अब कांग्रेस सभापति देउवा वा कोइराला ? प्रतिस्पर्धाबाट बाहिरिएका सिंह, निधि र गुरुङ निर्णायक (यस्तो छ अवस्था)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसमा सभापतिको छिनोफानो पहिलो चरणमा हुन नसकेपछि अब दोस्रो चरणको मतदान गरिँदैछ । पहिलो चरणमा ८२ मत कम भएका कारण सभापति हुन नसकेका शेरबहादुर देउवालाई दोस्रो चरणमा प्रतिस्पर्धा बाट बाहिरिएका विमेलेन्द्र निधी र प्रकाशमान सिंह मध्ये एकजनाको साथपाए पुग्ने देखिएको छ ।

शेखर कोइरालालाई भने प्रतिस्पर्धाबाट बाहिरिएका निधी र सिंहसहित कल्याण गुरुङको समेत साथ चाहिनेछ । पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत प्राप्त गर्दा उनलाई पच्छ्याएका कोइरालाले १७०२ मत पाए। देउवा र कोइरालाका बीच ५५६ को मतान्तर छ ।

जबकि सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरे । सिंह, निधि र गुरुङको मत जोड्दा ६४३ मत हुन्छ । जबकि जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब झण्डै छ सय मत आवश्यक पर्छ ।

यही कारण कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक बनेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता छन् । पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो । देउवाले पहिलो चरणमै ५० प्रतिशत कटाएर जित निकाल्ने रणनीति अपनाएका थिए । त्यसैका लागि उनले पहिलो चरणमै नेता कृष्णप्रसाद सिटौलासँग समीकरण गरेर प्यानल बनाएका थिए । तर, झिनो मतले उनले बहुमत पुर्‍याउन सकेनन् ।

कोइराला भने चुनावलाई दोस्रो चरणमा लैजाने र परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । सिंह र निधिले पनि चुनाव दोस्रो चरणमा पुगेको अवस्थामा आफूहरूको भूमिका अर्थपूर्ण देखेका थिए । निधिले यसअघि नै आफूहरूले कोइरालालाई सहयोग गर्ने घोषणा गरिसकेका छन् । ‘चुनाव दोस्रो चरणमा जान्छ, प्रकाशमानजी, म र शेखरजी मिल्छौँ, दोस्रोचरणबाट नेतृत्व परिवर्तन हुन्छ,’ उनले भनेका थिए ।

त्यस्तै, प्रकाशमान सिंहले पनि सोमबार मतदान गरेर बाहिरिदै गर्दा आफू नेतृत्व परिवर्तनको पक्षमा रहेको बताएका थिए । दोस्रो चरणमा निर्वाचन हुने भएपछि नेताहरूबीच दौडधुप सुरू भएको छ ।

  • २८ मंसिर २०७८, मंगलवार १०:०९ प्रकाशित