सुर्खेत ।
पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रुपमा हेरिएको छ ।
तोकिएकै मितिमा प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना करिब तयारी अवस्थामा रहेको बताइएको छ । तर प्रतियोगिताको मिति जति नजिकिँदै छ, त्यति नै प्रतियोगिता तोकिएकै मितिमा हुने नहुनेमा अन्यौलता छाएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब करिब साढे दुई महिनामात्र बाँकी छ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा सरकार परिवर्तन भएसँगै प्रतियोगिता केही समय पछाडि धकेलिने चिन्ता व्यक्त गरिएको छ ।
केही दिनअघि दशौँ राष्ट्रिय खेलकुदसम्बन्धी छलफल गर्न सुर्खेत आउनुभएका खेलकुदमन्त्री तेजुलाल चौधरीले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्नलाई तयारी नपुग भएको बताएपछि निर्धारित मितिमा प्रतियोगिता नहुने सङ्केत देखिएको हो ।
मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ भने प्रदेश खेलकुद विकास परिषद्ले एक सय दिनको काउन्टडाउन पनि सुरु भएको बताएको छ ।