पोखरा ।
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आज (मंगलबार) देखि सुरु हुँदैछ । प्रतियोगिता ४ दिनसम्म चल्ने आयोजक नव आदर्श विकास समाजले जानकारी दिएको छ ।
आयोजकका अनुसार आज पहिलो खेल बिहान ८ बजे हुनेछ । महिलातर्फ उद्घाटन खेलमा एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ ।
मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २ बजे दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल टिम र नेपाल पुलिस आमनेसामने हुनेछन् । राउण्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवै टिमतर्फ चार–चार टिमले भाग लिएका छन् । दुवैतर्फ फाइनल भदौ २१ गते हुनेछ ।
यसअघि दुवैतर्फ त्रिभुवन आर्मी क्लब र पुरुषमा मणीमुकुन्द क्लब बुटवल आउने भनिए पनि उनीहरुको सहभागिता छैन । पुरुषतर्फ गलकोटलाई ल्याइएको छ । तीज अवसरमा आयोजकले लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत यसपालि पनि भलिबल प्रतियोगिता निरन्तरता दिएको हो । महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप हो ।
दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ ।