पोखरा ।
दशौं मालेपाटन खुल्ला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यहि भदौ १७ गतेबाट सुरु हुने भएको हो ।
भदौ १७ गतेबाट सुरु भई २१ गतेसम्म (पाँच दिन) कार्यक्रम सञ्चालन हुने आज पत्रकार सम्मेलनमार्फत आयोजक सुर्यचन्द्र विकास समाजले जानकारी दियो ।
कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा बाराही मा.वि को खेल मैदानमा सञ्चालन हुने आयोजकले बताएको छ।
कार्यक्रममा महिला खेलकुद अन्तरगत अन्तर मा.वि. छात्रा भलिबल प्रतियोगितामा १२ समुहको सहभागित रहने भएको छ । भलिबल प्रतियोगिता भाद्र १७, १८ र १९गते बिहान ७ बजे देखि १ बजेसम्म हुने भएको छ ।
भलिबल बिजेतालाई २५ हजार नगद, द्वितीय हुनेले १५ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका सचिव हेमराज भण्डारीले जानकारी दिए् । यस्तै उत्कृष्ट खेलाडीलाई प्रत्येक खेलमा मेडल र नगद प्रदान गरिने आयोजकले बताएको छ । यद्यपि नगद रकम भने खुलाएको छैन ।
यस्तै साँस्कृतिक कार्यक्रम अन्तरगत हुने तीज गीत प्रतियोगिता भने तीजको दिन भाद्र २१ गते हुने भएको छ ।सचिव भण्डारीको अनुसार तीज गीत प्रतियोगिताका विजेताले ४० हजार, द्धितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुने १० हजार रुपैैयाँ प्राप्त गर्नेछन् । तीज गीत प्रतियोगितामा १६ टिम मात्र सहभागी हुने भएका छन्् ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले साँगीतिक प्रस्तुति दिने भएका छन् । यस्तै कार्यक्रममा समाजसेवा, शिक्षा, विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुराएका महिला स्रष्टामध्य एक जना महिलालाई नारी स्रष्टा सम्मान गरिने भएको छ ।
पाँच दिन सम्म चल्ने कार्यक्रममा १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजक संस्थाकी अध्यक्ष कमला गौतमले बताइन्।
अध्यक्ष गौतमको अनुसार कार्यक्रमबाट ९ लाख ९१ हजार संकलन हुने र ९ लाख ८५ हजार खर्च हुने आफुहरुकोे अनुमान छ । बचत रकम सहिद स्मृति पुस्तकालय सञ्चानमा प्रयोग हुने गौतमले बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले सुर्यचन्द्र विकास समाजले गरेको योगदान अतुलनीय रहेको बताए ।
कार्यक्रम सम्पन्न गर्नका लागि संस्थाका अध्यक्ष कमला गौतमको संयोजकत्वमा मुल आयोजक समिति र संस्थापक सदस्य धन बहादुर नेपालीको संयोजकत्वमा महोत्सव सल्लाहकार समिति र मुल समितिमा १३ वटा उपसमिति रहने गरी गठन गरिएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ५ को वडा कार्यलयको विशेष सहायेगमा हुन लागेको कार्यक्रमको मुख्य प्रायोजक पोखरा ८ पृथ्वीचोकमा रहको माता श्री जय लक्ष्मी सुनचाँदी दुकान रहेको छ ।