पोखरा ।
मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार थसाङ गाउँपालिका वडा नम्बर २ स्थित हिमपहिरो झरेको बोक्सीखोला कालीगण्डकीमा मिसिने खोला हो । माथिल्लो डाँडाको खोँचमा हिमपहिरो आएको र तल नआइपुगेको प्रजिअ पन्तले बताए ।
सानो पहिरो रहेको र तलसम्म नआइपुगेकाले क्षतिको कुनै सम्भाना नदेखिएको उनले जानकारी दिए । ‘हिमपहिरो ठूलो छैन । माथि नै खोँचमा अड्किएको छ । तल नआइपुगेकाले त्यस्तो कुनै क्षतिको सम्भावना देखिँदैन । तर पनि हामी सबै सुरक्षाकर्मीसहित अलर्ट अवस्थामा छौं’ उनले भने ।
उनका अनुसार खोँचमा थुनिएको बोक्सी खोला अहिले विस्तारै बग्न थालिसकेको छ ।














