केरलामा बाढीपहिरो : ज्यान गुमाउनेको संख्या १२३ पुग्यो

केन्द्रभाग मिडिया

भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ ।

यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको ज्यान गएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या १२३ पुगेको लेखेको छ ।

केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २–३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए ।

अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् ।केरलाका कृषि फर्महरुमा नेपालीहरुले पनि काम गर्दछन् । तर यो बाढीपहिरोमा नेपालीहरु परे/नपरेको अझै स्पष्ट हुन सकेको छैन ।

खोज तथा उद्धारमा सेना, नौसेना, वायु सेना, आपदा मोचन बल सहितका उद्धारकर्मीहरु परिचालन गरिएको छ । उद्धार टोलीले २५० भन्दा बढीलाई जोगाएको बताइएको छ ।

  • १६ श्रावण २०८१, बुधबार ०९:१० प्रकाशित