गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प

केन्द्रभाग मिडिया

File photo

पोखरा ।

गण्डकीका यातायात व्यवसायीले आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् । राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि पत्रकार सम्मेलन गर्दै व्यवसायीले सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए । तर आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार माग सम्बोधन नहुँदासम्म पछि नहट्ने व्यवसायीको तयारी छ । सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने समेटेको थियो । तर कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन । यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो ।

तर पहिले नै व्यवसायीहरूले थाहा पाएपछि उक्त बैठकको एजेन्डामा प्रवेश गरेन । यद्यपि व्यवसायीका आन्दोलन यथावत् छ । त्यसदिन उनीहरुले पोखराका सडकभर गाडी उतारेर प्रदर्शन गरेका थिए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था सचिव शंकर पण्डित र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएका थिए । गण्डकीका मुख्यमन्त्री निजी कामले भारतमा छन् ।

सरकारले व्यवसायीका मागमा केही बोलेको छैन । भौतिक मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले व्यवसायीका माग सम्बोधन गर्न नसकिने बताए । ‘ व्यवसायीहरूले रातो प्लेटका सवारीले भाडाका यात्रु ओसार्न नहुने माग राखेका छन् ।

महासङ्घले शनिबार अर्को विज्ञप्ति निकालेर मन्त्री मनाङेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

  • १३ श्रावण २०८१, आईतवार ०८:४३ प्रकाशित