काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । जय नेपाल फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो अशंका व्यक्त गरेका हुन् ।
महामन्त्री थापालेले असार ६ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा सोबारे संशय नहुने गरी स्पष्ट धारणा राख्नुपर्नेसमेत बताए । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउनेलगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको उनको जिकिर छ ।
‘नेताहरुप्रति विश्वासनीयताको ठूलो परीक्षा छ यस पटक । कांग्रेस–एमालेबीच जुन हस्ताक्षर गरिएको छ, सरकार आलोपालो चलाउने, यो गर्ने उ गर्ने भनेर भन्ने कुरा छ । यो तलमाथि हुँदै गर्दाखेरी यो अन्तिम भने पनि हुन्छ ।
पार्टीभित्र अहिले हाम्रो सभापतिजी हुनुहुन्छ । ओलीजी अध्यक्ष रहनुभएको एमाले छ । उहाँहरुले हस्ताक्षर गर्नुभएको हो यो । उहाँहरु एकअर्काबीच यति धेरै धोकाधडी भइसकेको छ कि मानिसहरुको मनमा संशय छ । तर यो उहाँहरुले प्रमाणित गर्नु पर्छ । कांग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौँ। नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरुको हो ।’
महामन्त्री थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अन्य दललाई सधैँभरी झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको पनि उल्लेख गरे । उनले आफू एमाले माओवादीसहितका दलहरु मिलेर बनेको सरकारलाई चलाउने पक्षमा नभए पनि प्रचण्ड स्वयंले नयाँ सरकार बनाउने परिस्थिति निर्माण गरेको भनाई थियो।