पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन् । प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार पनि ढलेको छ । प्रचण्डले आज संविधानको धारा १०० को उपधारा (२) बमोजिम पाँचौपटक विश्वासको मत मागेका थिए ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा ६३ मत मात्रै प्राप्त गरे भने विपक्षमा १९४ सांसदले मतदान गरे । विश्वासको मत प्रक्रियामा २५८ सांसद सरिक थिए । एक जनाले भने पक्ष रविपक्षमा मतदान नगरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका भए ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानअनुसार ३० दिनभित्र विश्वास लिनुपर्ने संवैधानिक बाध्यता थियो । कांग्रेस र एमालेले राजीनामा मागे पनि उनले संसदको सामना गर्ने बताएका थिए ।

यसअघि १० पुस ०७९ मा प्रचण्ड पहिलोपटक नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका थिए । उनले पहिलोपटक २६ पुस ०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उपस्थित २ सय ७० सांसदमध्ये प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका थिए ।

त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरू परिवर्तन गरे। सत्ता सहयात्री दलहरू फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ६चैत ०७९ विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १ सय ७२ सांसदको समर्थन पाएका थिए।

त्यसपछि उनले ३० फागुनमा तेस्रोपटक विश्वासको मत लिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए । चौथोपटक प्रधानमन्त्री प्रचण्डले २०८१ चैत ७ गते चौथोपटक विश्वासको मत लिए । त्यतिबेला उपस्थित सांसदमध्ये १ सय ५८ जना सांसद मतदान प्रक्रियामा सरिक भए। जसमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १ सय ५७ मत परेको थियो ।

  • २८ असार २०८१, शुक्रबार १७:४३ प्रकाशित