अग्रज पत्रकार हरि बास्तोलालाई युआरएल पत्रकारिता पुरस्कार

केन्द्रभाग मिडिया

पोखरा ।

यस वर्षको युआरएल पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिमा लामोसमय देखि कार्यरत अग्रज पत्रकार हरि बास्तोला सम्मानित भएका छन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले स्थापना र सञ्चालन गरेको पुरस्कार प्रालिको ८ औं वार्षिकोत्सवको अवसर पारेर एक कार्यक्रमका बीच प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री मधु अधिकारी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति प्राडा बुद्धिबहादुर थापा र युआरएलका अध्यक्ष ठाकुर पन्तले नगद २० हजार रुपैयाँ, दोसल्ला र ताम्रपत्रले बास्तोलालाई संयुक्र रुपमा सम्मान गरेका हुन् ।

वार्षिकोत्सव एवं पुरस्कार अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले प्रदेश सरकारले स्वास्थ्य नीति सर्वजनिक गरिसकेको र जनताको आधारभूत स्वास्थ्य अवश्यकता पुरा गर्न सरकार लागि परेको बताइन् । कोरोना र कोरोना जस्ता जटिल समस्या आएका बेला निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था र सरकारी स्वास्थ्य संस्थाले मिलेर काम गर्नुपर्ने उनले औल्याइन् ।

उक्त अवसरमा बोल्दै निवर्तमान उपकुलपति प्राडा थापाले नागरिकमा विश्वास दिलाउन सक्ने हो भने पोखरा स्वास्थ्य क्षेत्रको हव बन्ने बताए । ‘पोखरामा राम्रो गर्ने हो भने र नागरिकको विश्वास आर्जन गर्ने हो भने पोखरा स्वास्थ्यको हव बन्न सक्छ’ उनले भने ।

पत्रकारिताको माध्यमबाट पुरस्किर व्यक्तित्व बास्तोलाले स्वास्थ्यसहित अन्य क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको भन्दै उनले पत्रकार बास्तोलाको अझै प्रगतिको कामना गरे ।

कार्यक्रममा निजी अस्पतालहरुको छाता संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इन्सिटिच्युट अफ नेपाल (अफिन)का गण्डकी अध्यक्ष अशोक पालिखेले पुरस्कृत पत्रकार बास्तोलालाई बधाई दिँदै सरकारले निजी क्षेत्रले गरेको कामलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर मिनबहादुर गुरुङ, पुरस्कृत प्रतिभा छनोट समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले पुरस्कृत व्यक्तित्व अग्रज पत्रकार बास्तोलालाई बधाई दिएका थिए ।
उक्त पुरस्कारबाट यस अगाडि पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।

 

  • २३ मंसिर २०७८, बिहीबार १७:५७ प्रकाशित