छुरा प्रहारबाट घाइते युवा सङ्घका नेताको ज्यान गयो

केन्द्रभाग मिडिया

बुटवल।

राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापाको छुरा प्रहारबाट ज्यान गएको छ ।

एक समूहको छुरा प्रहारबाट घाइते भएका बुटवल–७, निवासी ३६ वर्षीय उनको उपचारका क्रममा मंगलबार ज्यान गएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक रेस्टुरेन्टमा छुरा प्रहार भएको थियो ।

युवा सङ्घ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले थापाको निधनले सङ्गठनलाई पीडा बोध भएको बताउँदै घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको बताए ।

रेस्टुरेन्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा सङ्घको गुनासो छ ।

इलाका प्रहरी कार्यालयका बुटवलका डिएसपी विजयराज पण्डितले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।उनले घटनाक्रम सुक्ष्म रुपमा अनुसन्धान भए पनि अझैसम्म नियन्त्रणमा कसैलाई नलिएको बताए ।

  • १९ असार २०८१, बुधबार १४:३७ प्रकाशित