कांग्रेस महाधिवेशनः मतदान स्थलभित्र मोबाइल लान नपाइने

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ ।

समितिले एक विज्ञप्ति जारी गर्दै भोलि शुक्रबारबाट काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले मतदान स्थलभित्र मोबाइल लान नपाइन उल्लेख गरेको छ ।

निर्वाचनको क्रममा शान्ति सुव्यवस्था कायम गर्न गराउन र शान्तिपूर्वक मतदानमा संयमित भएर भाग लिन सवै महाधिवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्दै मतदानस्थल भृकुटी मण्डप र राष्ट्रिय सभा गृह भित्र प्रवेश गर्दा मोवाईल फोन लिएर जान नपाइने निर्वाचन समितीले जनाएको हो ।

आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्नु पर्दा भिजिटिङ्ग कार्ड र सामान्य अपिल वितरण गर्न सकिने आचार संहितामा उल्लेख गरिएको छ ।

कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार प्रसार गर्न पाइने छैन भने मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी। पी। स्मृति भवन, ललितपुर र राष्ट्रिय सभा गृह र भृकुटी मण्डप, प्रदशनी मार्ग, यी दुई स्थान पार्टीको महाधिवेशनसंग सम्वन्धितस्थल रहेकोले उक्त दुई स्थानहरुको वरिपरि ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्वन्धित कुनै पनि प्रकारको प्रचार सामग्री व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्लेट इत्यादि टास्न एवं माइकिङ्ग गर्न समेत मनाही गरिएको र यस प्रकारका प्रचार सामाग्री उक्त निषेधित क्षेत्रभित्र टाँसिएको, राखिएको देखिएमा केन्द्रीय निर्वाचन समितिले हटाउने व्यहोरा आचार संहितामा उल्लेख गरिएको छ ।

महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकले आचारसंहिता पालना गर्न निर्देशन दिइएको छ ।

  • २३ मंसिर २०७८, बिहीबार १०:०६ प्रकाशित