पोखरा ।
यातायात व्यवस्था कार्यालय सवारी कास्कीले सार्वजनिक सवारीको भाडा लिन अनधिकृत एप नचलाउन र निजी सवारीलाई भाडामा यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । यसो गरेमा सवारी साधनको दर्ता खारेजसम्म गर्नसकिने बताएको छ ।
यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले अन्यत्र जे गरेपनि गण्डकी प्रदेशमा सार्वज्निक सवारीको भाडा लिन अनधिकृत एप चलाउन र निजी सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने बताए । भोलि कानून मार्फत नै व्यवस्थित गरिए बाहेक अहिले कुनैपनि हालतमा यस्ता अनधिकृत काम गर्न नदिइने उनले बताएका छन् ।
उनले ५ हजारदेखि १० हजारसम्म सुरुमै जरिवाना गराउने र एक-दुई पटक कारबाही गर्दासमेत अटेर गरे सवारी ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए । जरिवाना गरेर छोडेपछि पनि यसरी पटक पटक दोहोर्याएमा दर्ता र रुट खारेजसम्म गर्ने उनले जानकारी दिए ।
यसका लागि अहिले सञ्चार माध्यममा सूचना दिइएको र अब बृहत अनुगमन गरिने प्रष्ट्याएका छन् । यात्रु बिमा लगायतका विभिन्न समस्याहरु झेल्नुपर्ने र यात्रुले पनि कुनै समस्या आइहाले विभिन्न झन्झट बेहोर्नुपर्ने भएकाले उनीहरुको हितका लागि पनि यस्तो गर्नु अनिवार्य भएको उनले जानकारी दिए ।
https://www.facebook.com/KendraKhabar/videos/8080714051990847













