अपडेट : परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि श्रीमतीको हत्या

केन्द्रभाग मिडिया

crime

दाङ ।

दाङमा श्रीमतीको हत्या गरेर फरार नेपाली सेनाका जवान शालिकराम बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार शालिकराम बुढाथोकीले तुलसीपुर ६ डुम्रीगाउँमा बस्ने श्रीमती टिका बुढाथोकीको हत्या गरी फरार भएका थिए । उनले श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि हत्या गरेको खुल्न आएको छ ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलका अनुसार शालिकराम मिसनबाट फर्केर घर बिदामा आएका थिए । घर विदामा आएका बेला श्रीमतीलाई आज बिहान सवा ८ बजेतिर परपुरूषसँग आपत्तिजनक अवस्थामा भेटेपछि शालिकरामले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

शालिकरामले श्रीमतीका साथमा फेला परेका आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अछाम घर भएका आर्यन पनि नेपाली सेना हुन् । उनी तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत छन् । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

  • २५ जेष्ठ २०८१, शुक्रबार १०:३१ प्रकाशित