तालचोक–बेगनास सडक विस्तारले गति लिन सकेन : एक वर्षमा जम्मा २५ प्रतिशत काम

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनासताल जोड्ने चार लेन सडक विस्तारले गति लिन सकेको छैन । सडक विस्तारमा ढिलासुस्ती हुँदा स्थानीयमात्र नभई पर्यटकले पनि सास्ती खेप्दै आएका छन् । ०७९ चैतदेखि निर्माण थालिएको यो सडक खण्ड विस्तारको हालसम्म जम्मा २५ प्रतिशत भौतिक प्रगति छ ।

यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण उक्त सडक आयोजनाले गति लिन नसकेको हो । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरकै गौरवको आयोजनाका रुपमा तालचोक–बेगनास सडक स्तरोन्नतिलाई अगाडि बढाइएको हो ।

तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने वडाध्यक्ष गुरुङको भनाइ छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ ।

कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति बेलैमा सक्नुपर्ने बेगनास तालका डुंगा व्यवसायी शिवप्रसाद पाण्डेले बताए ।निर्माणका चरणमा भएकाले पर्यटकका लागि उक्त सडकको यात्रा कष्टपूर्ण बनेको उनको भनाइ छ ।

पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमका अनुसार केही समयअघि कामै रोकेको ठेकेदार कम्पनीले पुनः अहिले जनशक्ति र उपकरण थपेर काम सुरु गरेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा ३।२८ किलोमिटरको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको छ । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो । भ्याटबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौतामा ठेकेदार कम्पनीले काम गरिरहेको छ ।

फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नुमना सडक बन्ने इन्जिनियर गौतमको भनाइ छ । सडक छेउछाउमा बगैँचा, सडक बत्तीलगायत आकर्षक पूर्वाधार बनाइने महानगरले जनाएको छ । सडकमा ३ वटा पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको छ ।

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी र यात्रुलाई धूलो र हिलोको सास्ती खेप्न बाध्य भएको पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए ।

केही दिनअघि निर्माण कम्पनीका मुख्य प्रतिनिधि आफैँ आएर कामलाई गतिदिने प्रतिबद्धता जनाएको वडाध्यक्ष गुरुङले बताए ।

  • २५ जेष्ठ २०८१, शुक्रबार ०९:११ प्रकाशित