मधेस सरकारबाट बाहिरिने एकीकृत समाजवादीको तयारी

केन्द्रभाग मिडिया

वीरगन्ज ।

नेकपा एकीकृत समाजवादीले मधेस प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो ।

सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । एकीकृत समाजवादीकी मन्त्री बेची लुङ्गेलीले केन्द्रबाट नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन आएको बताइन् । सोही निर्देशन अनुसार पार्टीको संसदीय दलको बैठक बस्न लागेको उनले बताइन् । ‘सम्भवतः आजै प्रदेश सरकारबाट हामी बाहिरिने छौँ,’ उनले भनिन् ।

एकीकृत समाजवादीबाट मधेस सरकारमा २ जना मन्त्री सहभागी छन् । संसदीय दलका नेता गोविन्द न्यौपाने र बेची लुङ्गेली सरकारमा सहभागी छन् । यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मधेस सरकारबाट बाहिरिएका थिए ।

यसैबिच मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् ।नेपाली कांग्रेसले भने मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाइएको छ ।

  • २२ जेष्ठ २०८१, मंगलवार १६:५३ प्रकाशित