काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फिर्ता बोलाउने तयारी गरेका छन् ।
मन्त्रीपरिषद् पुनर्गठनको विषयमा सत्ता साझेदार दलहरूबिच परामर्श थालेसँगै प्रधानमन्त्री प्रचण्डले माओवादी मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको बताइएको छ ।
माओवादी पार्टीका कुनकुन मन्त्रीलाई फिर्ता बोलाउने भन्ने विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् ।
सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)र जनमत पार्टी (जपा)लाई समेटर मन्त्रीपरिषद् पुनर्गठन गर्ने लगायत विषयमा सत्ता घटक दलहरूसँग प्रचण्डले परामर्श गरिरहेका छन् ।
उनले केही दिन यता एमालेका अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग लगातार भेटवार्ता गरिरहेका छन् । भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद् पुनर्गठन, मधेस सरकार गठन, सुदूरपश्चिम सरकार विस्तार लगायत संसद्को काम कारबाहीबारे छलफल भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
यी सबै विषयमा शीर्ष नेताहरूबिच लगातार छलफल भए पनि कुनै निष्कर्ष नआएको उनले जानकारी दिए । नाउपा र जपालाई कुन कुन मन्त्रालय दिने भन्ने विषयमा कुनै सहमति नभएको बर्तौलाले बताए । मधेस सरकार गठनको विषयमा सहमति जुटेपछि एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ ।
यसै विषयमा सहमति जुटाउन प्रचण्डले शुक्रबार सत्ता साझेदार दलहरू एमालेका अध्यक्ष ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसँग छलफल गरेका थिए ।
प्रचण्डले आइतबार ओली र नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । बिहान नेपालसँग छुट्टै भेटेका प्रचण्डले त्यसलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा, ओली र नेपालसँग भेटवार्ता गरेका थिए ।
नाउपा र जनमतलाई एकरएक मन्त्रालय दिएर सरकारमा ल्याउने कुरामा गठबन्धन दलहरू सकारात्मक देखिए पनि आ–आफ्ना मन्त्रालय छोड्न एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादी तयार देखिएका छैनन् ।
मन्त्रालय छोड्न सहयात्री दलहरू तयार नभए माओवादीका कुनै एक मन्त्रीलाई फिर्ता बोलाउने कि अर्थमन्त्री बाहेक सबै मन्त्रीलाई फिर्ता बोलाउने भन्ने विषयमा छलफल भइरहेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।