काठमाडौं । नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले जनतामा रहेको निराशा चिर्न र आशा जगाउने गरी काम गर्नका लागि राष्ट्रिय सरकार आवश्यक भएको बताएका हुन् ।
‘यही संसद भित्रबाट हामीले राष्ट्रिय सरकार निर्माण गर्न सक्छौं । एउटा बडो डेमोक्रेटिक अलाइन्सको कल्पना गरौं,’ सांसद गौतमले भने ।
राष्ट्रिय सरकार बनाएर आवश्यक ठाउँमा संविधान संशोधन गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सकिने उनको भनाइ छ । यसो गरे जनतामा आशा र भारोसको संचार गराउन सकिने बताए ।
२०७४ सालमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले विश्वास गरेको छर, त्यसबेला ठीक ढंगले संविधान कार्यान्वयन गर्ने र मुलुकलाई ठीक दिशामा अगाडि बढाउन नसकेको उनले बताए ।