पोखरा ।
पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत बनाएको छ । युवा परिषदले एक दिवसीय सचेतनामूलक कार्यक्रम कार्यक्रम गरेर सामाजिक प्रयोगकर्तालाई सचेत गराएको हो ।
सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । सूचना प्रवाहमा सामाजिक सञ्जालको ठुलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरूसँगै चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले बताए ।
महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महत्त्वपूर्ण हुने धारणा राखे । ‘सामाजिक सञ्जालको प्रभावका दिनानुदिन बढ्दो छ, आचार्यले भने, यो मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको छ, तर यसको सदुपयोगीता र सकारात्मक प्रभावका विषयमा भने चर्चा गर्न आवश्यक छ ।’ सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिङ्गो समाजमा नकारात्मक प्रभाव र भ्रमहरू सृजना हुने भएकाले सचेत रहन आवश्यक रहेको उनले बताए ।
सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उल्लेख गर्दै उनले यसलाई समयमा नै चिन्न र जान्न सके जीवनमा सकारात्मक ऊर्जा र सफलताहरू प्राप्त गर्न सकिनेमा जोड दिए । कतिपय अवस्थामा यसलाई अपराधको अर्को सजिलो हतियारका रूपमा समेत लिने गरेको पाइएको भन्दै उनले राज्यको तहबाट नियमन गर्न जरुरी रहेको उल्लेख गरे । ‘सामाजिक सञ्जालको व्यवस्थित र मर्यादित सञ्चालनका लागि नियमन जरुरी छ ।’ उनले भने। विना कारण कतिपय व्यक्ति वा समुहरु सामाजिक सञ्जालको सिकार हुनु परेको भन्दै उनले यसको दुरुपयोग रोक्नुपर्ने बताए ।
‘पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले युवाहरूको मानसिकता र दृष्टिकोण निर्माणमा सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका रहेको बताए । युवाहरू इन्फरमेसन र डिसइन्फर्मेसनबाट बचाउन निकै चुनौतीपूर्ण रहेको बताउँदै उनले यसको आवश्यक ज्ञान तथा जानकारीका लागि यस प्रकारको कार्यक्रम निकै प्रभावकारी हुने धारणा राखे ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्मा र आइटीका जानकार विश्वराज पौडेलले सामाजिक सञ्जाल प्रयोगबारे चर्चा गरेका थिए ।













