पोखरा ।
लमजुङमा आयोडिन युक्त नून प्रति केजी २५ रुपैयाँमा विक्री हुनेगरेको पाइएको छ । साल्ट ट्रेडिङबाट वितरित नूनको अधिकतम मूल्य २० रुपैयाँ भएपनि लमजुङमा निर्वाध रुपमा २५ रुपैयाँमा विक्री हुने पाइएको पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका प्रमुख इश्वरी प्रसाद रेग्मीले जानकारी दिए ।
रेग्मी नेतृत्वको प्रदेश अनुगमन टोलीले बुधबार लमजुङको मध्यनेपाल नगरपालिका भित्र रहेका विभिन्न ११ वटा खाद्यान्न पसलमा अनगुमन गरेको हो । अनुगमनकै क्रममा उपभोक्ताले आफूहरु नूनमा समेत ठगिएको गुनासो गरेका थिए ।
तोकिएभन्दा धेरै मूल्यमा नून विक्री भएको पाइएपछि रेग्मीले अधिकतम मूल्य भन्दा धेरै मूल्य लिन नपाइने र आइन्दा तोकिएकै मूल्यमा विक्री गर्न निर्देशन दिए । त्यसो नगरे कानून बमोजिम कारबाही गरिने उनले बताएका छन् ।
अनुगमन टोली सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सल्लाहकार लक्ष्मी प्रसाद त्रिपाठीले व्यवसायीले घाटा हुन्छ भनेर तोकिएको अधिकतम मूल्य भन्दा धेरै लिन नपाइने बताए । ‘प्याकेटमा लेखिएको अधिकतम मूल्य भन्दा धेरै लिन पाइँदैन । त्यसभन्दा धेरै लिनुभनेको कालाबजारी गरे सरह हो’ उनले भने, ‘लमजुङमा २० रुपैयाँमा पाइने आयोडिनयुक्त नुन २५ रुपैयाँमा बेचेको पाइयो । व्यवसायीले अधिकतम तोकिएको भन्दा धेरै मूल्यमा आँफैले खरिद गरेको बताउनुभएको छ । के हो यो बसेर तुरन्तै सल्टाउनुपर्ने विषय देखियो । तर, बढी मूल्य कुनैपनि हालतमा लिन पाइन्न ।’
स्थानीय चन्द्रकिरण घिमिरेले आफूहरुले विगत एक वर्ष अगाडि देखि नै प्याकेडको नून २५ रुपैयाँका दरले किनेर उपयोग गरिरहेको जानकारी दिए । लमजुङ उद्योग वाणिज्य संघ भोलैटार इकाई अध्यक्ष सरोज पौडेलले आफूहरुले पनि बल्ल उपभोक्ताले गुनासो गरपछि नै यसबारे थाहा पाएको बताए ।
स्थानीय व्यवसायी एवं पौडेल सप्लायर्सका सञ्चालक सुरेन्द्रराज पौडेलले आफूहरुले नै नून खरिद गर्दा २० रुपैयाँ भन्दा धेरै परेको बताए । आफूहरुको खरिद मूल्य नै धेरै परेपछि बढी मूल्यमा बेच्नु आफूहरुको बाध्यता रहेको उनले सुनाए ।
११ पसलमा अनुगमन, अधिकांसमा छैन मूल्यसूची
प्रदेश अनुगमन टोलीले बुधबार लमजुङको मध्यनेपाल नगरपालिकामा रहेका विभन्न ११ वटा पसलको अनुगमन गरेको हो । अनुगमनको क्रममा मूल्यसूची सबैले देखिनेगरी टाँस्न, साइनबोर्ड स्पष्ट देखिनेगरी राख्न, नापतौल नियमित नविकरण गर्न र म्याद गुर्जेका सामान एक्सपाइरी जोन बनाएर छुट्टै राख्न निर्देशन दिएको छ ।
पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका प्रमुख इश्वरी प्रसाद रेग्मीको नेतृत्वमा गरेको टिममा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रतिनिधि दिपक राना, खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका अधिकृत शीवजी बराल, गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रतिनिधि रघुनाथ पौडेल, उद्योग वाणिज्य महासंघ गण्डकीका सल्लाहकार लक्ष्मी प्रसाद त्रिपाठी, लमजुङ उद्योग वाणिज्य संघ भोर्लेटार इकाई अध्यक्ष सरोज पौडेल र पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका विष्णु कुमारी पौडेल लगायतको सहभागीता थियो ।













