रेमल चक्रवात : भारतको मिजोरममा २७ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

मिजोरम ।

रेमल चक्रवातको कारण भारतको मिजोरमको राजधानी आइजवलमा २७ जनाको ज्यान गएको छ । रेमल चक्रवाती आँधीका कारण आएको पहिरोमा परी २७ जनाको ज्यान गएको मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो ।

मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको छ, ‘आइजवलमा चक्रवात रेमलका कारण गएको पहिरोमा २७ जनाको ज्यान गएको छ।’ पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र विद्युत् आपूर्तिमा पनि असर पर्ने विभागको भनाई छ ।

‘मिजोरमका मुख्यमन्त्रीले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ। पहिरोमा परी ज्यान गुमाएका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।

चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ ।

  • १६ जेष्ठ २०८१, बुधबार ०८:३८ प्रकाशित