काठमाडौं ।
बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ ।चक्रवातको प्रभाव दुइ दिन रहने सम्भावना रहेको छ ।
खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना छ ।
प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरुले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव पर्ने छ । यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने मौसमविद झाले बताए ।
मौसमविद चिरञ्जिवी भेटवालका अनुसार रेमल चक्रवात नेपालको पूर्वी भूभागभन्दा बाहिर नै भएर बहने छ । यसको बाहिरी घेराका केही बादलमात्र नेपालसम्म आइपुग्ने छन् ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार रेमल चक्रवातको असर नेपालको कोशी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विशेष बुलेटिनमा उल्लेख छ ।
रेमल चक्रवातको बढी असर भारत र बंगलादेशमा रहने पूर्वानुमान छ ।













