स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा थारु पक्राउ

केन्द्रभाग मिडिया

चितवन ।
स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा विश्वनाथ थारुलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ३० गते चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसलाई भरतपुर २० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका थारु भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेको प्रहरीले जनाएको ।

उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो । विद्यालय हाताभित्रबाट व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको भन्दैं विद्यालयले विज्ञप्ति नै निकालेर विरोध गरेको थियो । ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्ण रुपमा जलेको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

  • १४ जेष्ठ २०८१, सोमबार ०८:०७ प्रकाशित