आज देखि देशभर आई.पी.भी खोप अभियान : गण्डकीका १ लाख भन्दा बढी बालबालिकाले खोप लगाउँदै

केन्द्रभाग मिडिया

पोखरा ।

आज जेठ १३ गतेदेखि देशभर आईपीभी (पोलियो विरुद्धको ) खोप अभियान सुरु हुदैँ छ । आज देखि सुरु हुने अभियान २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

आईपीभी खोप अभियानमा देशभरका १४ लाख बढी बालबालिकालाई खोप लगाइने भएको छ । यता गण्डकी प्रदेशका ११ जिल्लाका १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई उक्त खोप लगाउन लागिएको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

२०७१ सालबाट सुरु भएको आईपीभी खोप २०७३ सालको प्रारम्भदेखि विश्व बजारमा अभाव हुदाँ दुई वर्ष भन्दा बढी अवधि सम्म यो खोप लगाउनबाट छुटेका बालबालिकाहरुलाई पालियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई यो खोप दिने उद्धेश्यले खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए ।

शर्माको अनुसार नियमित खोप तालिका अनुसार आईपीभी  खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाहरुको उमेर समुह निर्धारण गरिएको छ ।

जस अनुसार २०७३ वैशाख देखि २०७५ आश्विन सम्म जन्मिएका बालबालिकाहरुलाई मात्र यो खोप दिने गरि लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामाग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको छ ।

यस अभियानका लागि निर्धारण गरिएको उमेर समुहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकोले खोप सेवा पनि विद्यालयमै गएर प्रदान गरिने बताइएको छ ।

विद्यालय नजाने बालबालिकाहरु र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाहरुका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्र मार्फत खोप लगाइने भएको छ ।

खोप अभियानलाई प्रभावकारी बनाउन विद्यार्थी तथा बालबालिकालाई खोप लगाउन उत्साहित गर्न साथै समुदायमा खोप अभियानको बारेमा सुचना सम्प्रेषण गरिदिन विद्यालय तथा सञ्चारमाध्यमहरुलाई मन्त्रालयले आग्रह गरेको छ ।

खोप अभियानमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरी ३ हजार ४ सय ५३ वटा खोप केन्द्र सञ्चालनमा ल्याइएको छ ।२ हप्तासम्म सञ्चालन हुने अभियानमा विद्यालय नजाने र विद्यालयमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई पायक पर्ने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाइने भएको छ ।

गण्डकी प्रदेशको सबैभन्दा बढी आईपीभी खोप कास्कीका बालबालिकालाई लगाइने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कास्कीमा २८ हजार ३ सय ७, नवलपुरमा १९ हजार ७ सय २९,तनहुँमा १४ हजार ५ सय १२, बागलुङमा ११ हजार ७ सय ७७, र स्याङ्जामा १० हजार १ सय ४५ जना बालबालिकालाई आई।भि।पी खोप लगाइँदै छ ।

यस्तै गोरखामा ८ हजार ५ सय ३९ लमजुङमा ६ हजार ६ सय ६५, पर्वतमा ५ हजार ७ सय,म्याग्दीमा ४ हजार ३ सय ५६, मुस्ताङमा ४ सय ५० र मनाङमा १ सय ५३ जना बालबालिकालाई उक्त खोप लगाइँदै छ ।

खोप अभियानमा गण्डकी प्रदेशमा ३ हजार ४ सय ५३ जना स्वास्थ्यकर्मी र ६ हजार ९ सय ६ जना स्वास्थ्य स्वयंसेवक परिचालन भएका छन् ।

नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । खोपले शिशु तथा बाल मृत्युदर घटाउन योगदा पुराउँछ ।

  • १३ जेष्ठ २०८१, आईतवार ०९:५६ प्रकाशित