देशभरका सहकारी पीडितहरुले भोलिदेखि तेस्रो चरणको आन्दोलन गर्ने

केन्द्रभाग मिडिया

मुलुकभरका सहकारीपीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् ।

सरकारले यसअघिका सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जेठ ११ देखि आन्दोलन थाल्ने भएको हो ।

पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्न लागिएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताएका छन्।

‘जेठ ११ को बिहान ११ बजे माइतीघर मण्डलाबाट आन्दोलन सुरु हुनेछ, र्‍यालीपछि कोणसभा गरेर रिले अनशन सुरु गर्छौं,’ उनले भने, ‘सहकारीपीडितको माग पूरा नभएसम्म आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्छ । पोखरा, नेपालगन्ज, चितवन र धरानमा पनि एकै पटक सुरु हुन्छ ।’

सबै दललाई सहकारी बचतकर्ताको पक्षमा आवाज उठाइदिन र समस्या समाधानका लागि पहल गर्न पनि पत्रकार सम्मेलनमा अध्यक्ष केसीले आग्रह गरे । ‘

सहकारीपीडितले न्याय नपाए ०८४ को निर्वाचन बहिष्कार हुने उनको भनाइ छ । ‘तपाईंहरू मिसन ०८४ भन्नुस्, हामी मिसन ०८४ बहिष्कार गर्न अगाडि बढ्दै छौं, सहकारीपीडितको माग पूरा भएन भने ०८४ मा तपाईंहरूको लेभल पनि हाम्रो लेभलमा आउँछ, त्यतिखेर हामी देखाउँछौं जनताको तागत,’ उनले भने, ‘हामीहरूले घर–घरबाट तपाईंहरूलाई लखेट्छौं, सहकारीपीडितले न्याय पाएनन् भने ०८४ मा चुनाव हुँदैन ।’

  • १० जेष्ठ २०८१, बिहीबार ११:०१ प्रकाशित