पशुपतिमा बाजा बजाउने ५ कर्मचारी भेटी चोरेको आरोपमा पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पशुपतिनाथ मन्दिरको भेटी चोरेको आरोपमा पक्राउ परेका ५ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका पशुपति क्षेत्र विकाश कोषका ५ जना कर्मचारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ३६ वर्षीय नवराज घिमिरे र ५१ वर्षीय नवराज ढोडारी पशुपतिको मन्दिरमा चढाएको भेटी गन्ने जिम्मेवारी लिएका कर्मचारी हुन् ।

यस्तै २९ वर्षीय सञ्जय कपाली, ३५ वर्षीय कुमार दमाई परियार र ३४ वर्षीय अनिल परियार चाहिँ बाजा बजाउने कर्मचारी हुन् । पशुपतिको नित्य पूजा गर्नेबेला कपालीले नेवारी संस्कृति अनुसारको बाजा र परियारद्वयले सनाई बजाउँछन् ।

तर, उनीहरूलाई पछिल्लो समय भेटी गन्नेहरूले सहयोगी बनाएको भेटिएको छ । भेटी गन्ने मुख्य जिम्मेवारीमा रहेका घिमिरे र ढोडारीसँगै उनीहरू पनि गणना गर्ने ठाउँमा जान्थे । सो कोठामा प्रवेश गर्दा र फर्किँदा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा जाँच गर्छ । तर, उनीहरूले भित्रबाट ज्याकेटको बाहुलामा लुकाएर रकम ल्याउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

  • ९ जेष्ठ २०८१, बुधबार १७:०१ प्रकाशित