पोखरा विश्वविद्यालयले सुरु गर्‍यो शिक्षण अस्पताल

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ ।

२२ भदौ २०८० मा आंशिक रुपमा सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्ण रुपमा अस्पताल सञ्चालन गरेको हो । सो अस्पतालको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

पोखरा महानगरपालिका–३० खुदीमा विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै रहेको शिक्षण अस्पतालमा गत साल भदौदेखि बहिरंग सेवा सुरु गरेको थियो ।

बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नशा, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट सुरु भइसकेको छ । अस्पतालमा डेन्टल कार्यक्रम चलाउन पूर्वाधार तयार भइसकेको विश्वविद्यालयले जनाएको छ ।

चिकित्सा शिक्षाका कार्यक्रमहरुलाई प्रयोगात्मक अभ्यास गर्न अस्पताल आवश्यक पर्ने भएकाले विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमसँग जोड्ने र विशिष्टीकृत सेवा प्रदान गर्ने विश्वविद्यालयको भनाइ छ ।

अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिइरहेको छ भने औषधी, रेडियोलोजी र इसिजी सेवा पनि सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य विज्ञानतर्फ चिकित्सा शिक्षा आयोगले दिएको कोटामा विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, बीपीटी, बीएस्सी नर्सिङ, बीएनएस कार्यक्रममा पठनपाठन सञ्चालनमा आएको छ ।

अस्पतालले आगामी दिनमा शल्यक्रिया सेवा, सघन उपचार कक्ष ९आईसीयू०, नवजात शिशु सघन उपचार कक्ष ९एनआईसीयू० र अन्तरंग सेवा सञ्चालनको तयारी गरेको विश्वविद्यालयका निर्देशक डा। दीपेन्द्रकुमार यादवले जानकारी दिए ।

अस्पतालमा ४० कर्मचारीमध्ये ६ जना कन्सल्टेन्ट डाक्टर, ६ जना मेडिकल अफिसर, डेन्टल अफिसर र प्रयोगशालातर्फका जनशक्ति रहेका पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन सह–प्रा।डा। अमर नागिलाले जानकारी दिए ।

एमबीबीएस अध्यापन सुरु गर्न कम्तीमा ३०० बेडको अस्पताल चाहिने र आगामी दिनमा त्यो लक्ष्य पूरा गर्ने नागिलाले बताए ।

१०० बेडसम्मको शिक्षण अस्पतालको अनुमति गण्डकी प्रदेश सरकारले दिएको मुख्यमन्त्री खगराज अधिकारीले बताए । मेडिकल शिक्षासँगै गुणस्तरीय सेवा प्रदान गरेर नागरिकको विश्वास जित्न अधिकारीले अस्पताललाई आग्रह गरे ।

  • ७ जेष्ठ २०८१, सोमबार १५:५५ प्रकाशित