काठमाडौँ ।
सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल प्रचण्डले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
उक्त विश्वासको मतसम्बन्धी पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ ।प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेस गर्नुहुने सङ्घीय संसद्को आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ ।
सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ ।
सङ्घीय संसद्को चौथो अर्थात् बर्खे अधिवेशन गत वैशाख २८ बाट सुरु भएको हो ।