इजरायली हवाई आक्रमणमा २० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

गाजापटी ।

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको ज्यान गएको आइतबार गाजा अस्पतालले जनाएको छ ।

‘मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली हवाई आक्रमणले निशाना बनाएपछि बीस जना मृत र धेरै घाइते अवस्थामा यहाँ ल्याइएको छ’, अल–अक्सा शहीद अस्पतालमा एक विज्ञप्तिमा भनिएको छ।

प्रत्यक्षदर्शीका अनुसार ३ बजे स्थानीय समयमा आक्रमण भएको थियो। इजरायली सेनाले घटनाको रिपोर्ट जाँच गरिरहेको बताएको छ। प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वफाले घाइतेहरुमध्ये धेरै बालबालिका रहेका र उद्धारकर्ताहरूले भग्नावशेषमुनि फसेका व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।

उत्तरी गाजाको जबालिया शिविरमा पनि प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच केही दिनदेखि झडप हुँदै आइरहेको छ। प्रत्यक्षदर्शीका अनुसार गाजा क्षेत्रमा रातको समयमा भएको हवाई आक्रमणमा अन्य धेरै घरहरू लक्षित गरिएको साथै राफाहका केही भागहरूमा पनि हवाई आक्रमण र गोलाबारी भएको थियो ।

घटनाको अघिल्लो दिन गाजामा थप दुई जना सैनिक मारिएको इजरायली सेनाले जनाएको छ। अक्टोबर २७ मा आक्रमण सुरु भएदेखि गाजाको सैन्य अभियानमा अहिलेसम्म दुई सय ८२ जना सैनिक मारिएको सेनाले जनाएको छ।

  • ६ जेष्ठ २०८१, आईतवार १५:०७ प्रकाशित