सहकारी ठगी प्रकरण

गण्डकी अन्तर्गतका ८ सहकारीबाट बचतकर्ताको दुई अर्ब ३८ करोड हिनामिना

दुई सहकारीकाे छानविन अन्तिम चरणमा, थप २५ सहकारीको छानविन हुँदै

गोविन्द सुवेदी

पोखरा ।

गण्डकी प्रदेश अन्तर्गतका विभिन्न ८ सहकारीले बचतकर्ताको दुई अर्ब ३८ करोड ५७ लाख २० हजार ९९४ रुपैयाँ हिनामिना गरेका छन् । सहकारी रजिष्टारको कार्यालय गण्डकीका अनुसार यसरी हिनामिना गर्नेमा पर्वतमा रहेका तीनवटा, कास्कीका २ वटा, नवलपुर, लमजुङ र वागलुङका एक/एक वटा सहकारीले बचतकर्ताको रकम हिनामिना गरेका हुन् ।

पर्वतको नागढुंगा बचत तथा ऋणसहकारी संस्था लिमिटेडले बचतकर्ताको ५ करोड ३८ लाख ३७ हजार ११८ रुपैयाँ हिनामिना गरेको छ । पर्वतकै तपाइँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २९ करोड ९८ लाख ५० हजार ८१० रुपैयाँ र ग्रामिण विकास कृषि सहकारी संस्था लिमिटेड पर्वतले बचतकर्ताको ९ करोड, १ लाख ५० हजार २६६ रुपैयाँ हिनामिना गरेको छ ।

कास्कीको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ करोड ८६ लाख ६४ हजार ६४६ रुपैयाँ र कास्कीकै विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ७ करोड, ६९ लाख ५९ हजार ८६४ रुपैयाँ हिनामिना गरेको छ ।

लमजुङको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ९ करोड ११ लाख १५ हजार ६५० रुपैयाँ हिनामिना गरेको छ । नवलपुरको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडले १६ करोड ५८ लाख ९२ हजार २६१ रुपैयाँ हिनामिना गरेको छ । वागलुङको इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ अर्ब ३३ करोड ९२ लाख ५० हजार ११४ रुपैयाँ हिनामिना गरेको छ ।

सहकारी रजिष्टारको कार्यालय गण्डकीका प्रवक्ता इश्वरी ढकालका अनुसार बचतकर्ताको रकम हिनामिना गर्ने मध्ये नागढुंगा बचत तथा ऋण सहकारी संस्था र छिपछिपे उपभोक्ता सहकारी संस्थाले हिनामिना गरेको बचतकर्ताको रकम भुक्तानीको प्रक्रियामा छन् ।

कालिका बचत तथा ऋण सहकारी संस्था, मित्रमिलन बचत तथा ऋण सहकारी संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था,ग्रामिण विकास कृषि सहकारी संस्था र तपाइँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा अदालतमा विचाराधिन  छ । विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

दुई सहकारीकाे छानविन अन्तिम चरणमा, थप २५ सहकारीको छानविन हुँदै

दुई सहकारीको छानविन अन्तिम चरणमा पुगेको प्रवक्ता ढकालले जानकारी दिइन् । अनुसन्धानको अन्तिम निस्कर्ष आउन बाँकी रहेकाले ति सहकारीले कति बचतकर्ताको कति रकम हिनामिना गरेका छन् भन्न तत्काल नसकिने उनले जानकारी दिइन् ।

थप २५ सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको उजुरी सहकारी रजिष्टारको कार्यालयमा परेकाले छानविन हुँदैछ । ‘८ वटा सहकारीको हामीले छानविन गरेर कारबाही प्रक्रियाका लागि पठाएका हौं । थप दुई  सहकारीको छानविन अन्तिम चरणमा पुर्याएका छौं’ उनले भनिन्, ‘त्यसपछि नै ति सहकारीले कति रकम हिनामिना गरे भन्ने भन्न सकिन्छ । अरु २० देखि २५ सहकारीका बचतकर्ताले पनि उजुरी गरेका छन् । उनीहरुको पनि छानविन प्रक्रिया सुरु भएको छ ।’

  • ३० बैशाख २०८१, आईतवार १८:४३ प्रकाशित