कांग्रेस महाधिवेशन : ६ वटा प्रदेश परिणाम हेर्दा कुन समूह बलियो ?

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसले संघीयतालाई आत्मसात गर्र्दै संविधानको प्राबधान अनुरुपको आफ्नो पार्टी संरचनालाई ढाल्ने प्रयास अनुरुप पहिलो पटक प्रदेश संरचनामा आफ्नो नेतृत्व चयन गरेको छ ।

जस अनुसार ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति पार्टीको आन्तरिक निर्वाचन मार्फत पूर्णता दिने काम भएको छ । निर्वाचनमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

६ वटा प्रदेश नेतृत्व मध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा संस्थापन समूह तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ । प्रदेश–१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी भएका छन् ।

सभापतिमा थापाले ८ सय ४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका हुन्। लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी भएका छन् । वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भए।

बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याएका हुन्। सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् ।

प्रदेश–२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो ।

  • २० मंसिर २०७८, सोमबार ०९:२४ प्रकाशित