चितवन ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् ।
चितवनमा आज बिहान पत्रकारसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् । उनले भगाएको मानिस खोज्न समय लाग्ने समेत प्रतिक्रिया दिए ।
राईलाई कसले भगाएको हो ? भन्ने प्रश्नमा लामिछानेले ‘भाग्दाखेरी सरकारमा को थियो ? भन्दै प्रतिप्रश्न गरे । उनले राईलाई पक्राउ गर्न आवश्यक केही प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकोले समय लागेको उल्लेख गरे ।
राई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका छन् । उनी मलेसियामा रहेको भनिएको छ ।
मलेसियाका गृहमन्त्रीसँग आफ्नो कुरा भएको मन्त्री लामिछानेको दाबी छ । मलेसियासँग सुपुर्दगी सन्धी नभएकाले पक्राउ गर्न र स्वदेश ल्याउन कठिन भएको उनले बताए ।