कतार र नेपालबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमती

केन्द्रभाग मिडिया

काठमाडौं ।

कतार र नेपालबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमती भएको छ । काठमाडौंमा आज भएको दुई देशका उच्च पदाधिकारी बीचको चौंथो बैठकमा सन् २००५मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ ।

साथै कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न पनि सहमति जनाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि उक्त विषयमा निर्णय गर्न दुईपक्षीय संयुक्त समिति गंठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनको क्रममा समेट्ने सहमति भएको छ ।

कतारको उच्चस्तरीय टोलीले नेपालको शर्त पूरा गर्न तयार रहेको प्रतिकृया दिएको छ । साथै श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायतका बिषयमा छलफल भएको छ।

  • १७ मंसिर २०७८, शुक्रबार १५:३७ प्रकाशित