काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् ।
यसको कार्यान्वयनको लागि सरकारको तदारुकता आवश्यक रहेको पनि उनको भनाइ थियो ।संविधान बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा भए गरेका काम र उपलब्धि सहितको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन बमोजिमको वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति भवन शीतल निवासमा बुझ्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
‘उपलब्ध स्रोत साधनको परिचालन गरी राज्यका निर्देशक सिद्धान्तद्वारा निर्देशित भई नीतिहरूको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयनबाट मुलुकमा आर्थिक समृद्धि हासिल हुने र यसबाट नागरिक अधिकारको उपभोग गर्नसमेत सहज हुने हुँदा यसतर्फ सदैव सरकारको ध्यान जानेनै छ भन्ने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने ।
सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पौडेललाई हस्तान्तरण गरे ।