त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको ज्यान गुम्यो, एक जना बेपत्ता

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना-५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खस्दा पाँच जनाको ज्यान गुमेको छ ।

ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालका अनुसार ज्यान गुमाउनेमा गोरखा नगरपालिका-४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, हरिमाया रोका, याङ्कोटककी २८ वर्षीया अन्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटी रहेका छन् ।

दुर्घटनामा एक जना बेपत्ता छन् । उनी पनि गोरखाकै फिनामका विवश रोका रहेको प्रहरीले जनाएको छ । बेपत्ता विवशको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको प्रहरी प्रमुख रिमालले जानकारी दिए ।

पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किंदै गर्दा ट्याक्सी दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले बताए ।

खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको थियो ।

 

  • १७ चैत्र २०८०, शनिबार १०:५९ प्रकाशित