पोखरा ।
नेपाल एसोसिएसन आफ टुर एण्ड ट्राभल (नाट्टा) गण्डकीले पर्यटन वसपार्कमा बृहत सरसफाई कार्यक्रम गरेको छ । निरन्तर रुपमा चलेको पर्यटन क्षेत्र सरसफाई अभियान अन्तर्गत शनिबार विहान पर्यटन वसपार्कमा बृहत सरसफाई कार्यक्रम गरिएको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । पर्यटकीय क्षेत्र चिटिक्क हुनुपर्ने भन्दै उनले सरसफाई कार्यक्रम नियमित भएको बताए ।
प्रत्यक महिनाको एक दिन भने बृहत सरसफाई कार्यक्रम गरिँदै आएको उनले जानकारी दिए । ‘पर्यटकीय क्षेत्र सफा र चिटिक्क हुनुपर्छ । त्यसो हुनसकेमात्र पर्यटकलाई आउँ आउँ लाग्ने हो । त्यसैले हामीले नियमित रुपमा सरसफाई अभियान चलाएकै हुन्छौं । हामी नाट्टाका पदाधिकारी तथा सदस्यहरु नै यसमा सहभागी हुन्छौं । नियमित रुपमा चल्ने यो क्रार्यक्रम हामी महिनाको एक पटक अल्लि बृहत गर्छौ । त्यत्ति मात्र हो’ उनले भने ।
पर्यटन वसपार्कमा नियमित सरसफाईकर्मी रहेका र सरसफाई पनि निरन्तर भएपनि बृहत सरसफाई कार्यक्रमले अझ सफा राख्न मद्दत पुगेको उनले बताए । उनका अनुसार यसरी सरसफाई कार्यक्रम मार्फत जम्मा गरिएको फोहोर महानगरको फोहोर बोक्ने साधनमा पठाइएको छ । बृहत एवं नियमित सरसफाई कार्यक्रमका लागि नाट्टा गण्डकीले कार्यसमिति सदस्य सुशीला सिग्देलको नेतृत्वमा एक समिति नै बनाएको छ ।
शनिबार नै विश्व पर्यटन दिवशको दिन रोपिएका विरुवा गोडमेल समेत गरिएको उनले जानकारी दिए । विरुवा रोपेर मात्र नहुने भन्दै उनले त्यसको निरन्तर गोडमेल र काँटछाट जरुरी रहेको बताए । त्यसैले आफूहरुले गोडमेल समेत गर्ने गरेको उनको भनाई छ ।