चैत्रको ११ र १२ मा बेगनासमा ड्रागन बोट रेस प्रतियोगिता

केन्द्रभाग मिडिया

पोखरा । सात तालको सहर लेखनाथको बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ । आगामी चैत्रको ११ र १२ गते उक्त प्रतियोगिता हुने भएको हो । फागु पूर्णिमाको अवसर पारि पोखरा महानगरपालिका, ड्रागन बोट संघ गण्डकी प्रदेश र होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको संयुक्त आयोजना तथा स्थानीय संघ संस्थाको सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा वोल्दै होटल तथा रेष्टुरेन्ट एशोसियसन लेखनाथका अध्यक्ष तथा कार्यक्रम संयोजक विरभद्र कंडेलले पोखरालाई पर्यटकीय राजधानी घोषणा पश्चात पोखराको पूर्वी भेगमा रहेको बेगनासतालमा आन्तरिक तथा बाश्य पर्यटकलाई लक्षित गरी प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता आयोजना गर्न लागिएको बताए । दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल र्याफटिङ संघ, फेवातालका डुंगा ब्यवशायी, बेगनासतालका डुंगा ब्यवशायी गरी १० टीमको सहभागीता रहने कंडेलले जानकारी दिए ।

संयोजक कंडेलका अनुसार बोट रेस संगै स्थानीय भेषभुषा झल्कने झांकी तथा र्याली प्रदर्शन, स्थानीय माछाको प्रदशृन, मनोरन्जनात्मक सांगीतिक कार्यक्रम, नेपाल चिन सम्बन्ध झल्कने बस्तु एवं परिकार, मनोरन्जनात्मक सांगीतिक कार्यक्रम, स्थानीय पर्यटकीय स्थान बिषेसको प्रचार प्रसार एवं प्रवद्र्धन लगायतका कार्यक्रमहरु हुनेछन । सो अवसरमा वोल्दै नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय पोखराका निमित्त प्रमुख नबिन पोख्रेलले बेगनास क्षेत्रमा पानीमा खेलिने खेलको प्रवद्र्धनका लागी ड्रागन बोट रेस प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने वताए ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कँडेलले बेगनासमा हुने ड्रागन बोट रेस प्रतियोगिताले बेगनासमा आन्तरिक तथा बाह्य पर्यटकमात्र नभइ खेल पर्यटनको संभावनालाई उजागर गर्ने वताए ।

पोखरा महानगरपालिका पर्यटन समितिको अध्यक्ष रविन्द्रराज पौडेलले फेवातालमामात्र नभइ अन्य तालहरुमा समेत जल खेललाई सञ्चालन गर्ने उद्देश्यले पहिलो पटक बेगनासमा ड्रागन बोट रेसको आयोजना गरिएको वताउदै प्रतियोगितामा नेपालभरका १२ वटा टीमको सहभागीता रहने र दुईवटा बिभागीय टिमले सहभागीता जनाउने वताए ।

त्यस्तै लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले ड्रागन बोट रेस प्रतियोगितालाई भब्य र सभ्य बनाउनका लागी संघको तर्फबाट सहकार्य गरी स्थानीय संघ संस्थालाई समेत उक्त कार्यक्रममा सहभागीता समेत जनाउने बताए ।ड्रागन बोट संघ गण्डकीका अध्यक्ष दीपक सुवेदीले पर्यटक राजधानी घोषणा पछिको पहिलो कार्यक्रम भएकाले पर्यटन प्रवद्र्धनमा ड्रागन बोट रेसले भुमिका खेल्ने बताउदै साततालको सहरलाई जलखेलको शहरका रुपमा प्रतियोगिताले ठूलो भुमिका खेल्ने उनको भनाइ रहेको थियो ।

५ सय र २ सय मिटर गरी दुई बिद्यामा आयोजना हुने उक्त प्रतियोगितामा ५ सय मिटर तर्फ प्रथम हुनेले २ लाख, दोश्रो हुनेले १ लाख ५० हजार र तेश्रो स्थान हासिल गर्नेले ७५ हजार नगद प्राप्त गर्नेछनभने दुई सय मिटर तर्फ प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेश्रो हुनेले २५ हजार प्राप्त गर्नेछन ।

  • ६ चैत्र २०८०, मंगलवार १२:४५ प्रकाशित