भव्य समारोहका बीच आज पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरा आजबाट (आइतबार) देशकै पर्यटकीय राजधानी बन्दै छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने भव्य समारोहका बीच आज प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैछन् ।

यसका लागि सबै तयारी पूरा भएको गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । घोषणा मुल समारोह अगाडि आज विहान १०ः१५ बजे बसुन्धरा पार्कबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली हुने छ ।

विहान ११ः१५ बजे मुल समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सभापतित्व र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गर्नेछन् । भव्य समारोहका बीच प्रधानमन्त्री प्रचण्डले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।

कार्यक्रमलाई भव्यरुपमा मनाउन पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा गठि मुल समारोह समितिले निरन्तर खटेर तयरी गरेको हो । समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरु, पोखरासंग जोडिएका रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, फेदीखोला, सुक्लागण्डकी, कुस्मा र मोदीका प्रमुखरअध्यक्ष, प्रदेशका प्रमुख सचिवसहित सबै सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुखहरु, पोखरा पर्यटन परिषद्, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखा, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल संघ पोखरा, नेपाल पर्यटन बोर्ड पोखरा, महानगरका सबै वडाअध्यक्ष, पर्यटकी संघसंस्थाका प्रमुख, कास्की स्थित सबै संघसंस्था सहभागी छन् ।

पर्यटकीय राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा समेत बुझाउनका लागि नेपाल स्थित चीन र भारतका राजदुत र भिविन्न देशका नेपाल स्थित कुटनीतिक नियोगका प्रमुखको सहभागिता रहने अपेक्षा गरिएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पनि समारोहमा विभिन्न देशका राजदुतहरुको उपस्थिति रहने बताएका छन् ।

  • ४ चैत्र २०८०, आईतवार ०६:५५ प्रकाशित