नेपालमा बर्सेनि तीन सय बढी मिर्गौलाका बिरामी थपिन्छन्

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपालमा हरेक वर्ष तीन सयभन्दा बढी मिर्गौलाका नयाँ बिरामी थपिने गरेका छन् । मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा. डा.प्रेम ज्ञवालीका अनुसार नेपालमा वार्षिकरुपमा साधरणतया ३५० देखि ४०० जना मिर्गौलाका नयाँ बिरामी फेला पर्ने गरेका हुन् ।

अस्वस्थ खानपान, रक्तचाप, मधुमेह, पत्थरी लगायत कारणले मिर्गौलामा समस्या देखिन्छ । हालसम्म नेपालमा के–कति मिर्गौलाका बिरामी छन् भने यकिन तथ्याङ्क सरकारी निकायसँग भेटिँदैन । तर सरकारी निकायबाट मिर्गौला रोगमा दिइने उपचारको सेवा लिएका करिब १५ हजार जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

‘सबै स्वास्थ्य संस्थाबाट तथ्याङ्क सङ्कलन भएको छैन । तर मिर्गौला रोगको लागि सेवा लिनेको तथ्याङ्क हेर्ने हो भने लगभग १० देखि १५ हजारले सुविधा लिएका छन्,’ उनले भने, ‘निदान नभएका, निदान हुन नसकेका समाजमा लुकेका मिर्गौलाका बिरामी हुन सक्छन् । हामी कहाँ सिकिस्तै बिरामी भएमा, हिँड्न र काम गर्न नसक्ने भएमा मात्रै स्वास्थ्य परीक्षण गराउने बानी छ । त्यसकारणले यो तथ्याङ्कभन्दा ६ देखि ७ गुणा बढी नै बिरामी छन् भन्ने आङ्कलन गर्न सकिन्छ ।’

  • १ चैत्र २०८०, बिहीबार ११:०८ प्रकाशित