चितवन ।
नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार बिहान १० औं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल छन् ।
यसअघि ओलीले आइतबार राति बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । ओलीले विष्णु पौडेललाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिवमा प्रस्ताव गरेका छन् ।
अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो । ओलीले उम्मेद्वारी दर्ता गर्नु अगाडिल नै भीम रावलले पनि अध्यक्षमा उम्मेद्वारी दर्ता गराईसकेकाले अध्यक्षमा ओली र रावल बीच प्रतिस्पर्धा हुनेभएको छ ।
एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ । पार्टीभित्र भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको विरोधकाबीच अध्यक्ष ओलीले दिनभरको गृहकार्यपछि प्रस्ताव ल्याएका हुन् । ईश्वर पोखरेल एमालेको दुई कार्यकाल महासचिव भएका थिए । शंकर पोखरेल यसअघिको महाधिवेशनमा उपमहासचिवमा हारेका थिए । एमाले सचिव भइसकेका छन् । उनी लुम्बनी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन् ।
प्रस्ताव अनुसार ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ छन् । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल लाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।
सहमतिका लागि ल्याएको प्रस्तावमा पूर्व माओवादी पक्षका रामबाहादुर थापा उपाध्यक्ष सहित टोपबहादुर र लेखराज गरी ३ जना परेका छन् । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्बाङ र ईश्वर पोखरेल र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलमध्ये कसलाई बनाउने भन्नेबारे गलफत्ती परेको थियो । दुवैजना ओलीका विश्वासपात्र भएकाले उनीहरूमध्ये पौडेल उपाध्यक्षमा र पोखरेल महासचिवमा बस्न तयार भएका हुन् ।