पोखरा ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको अगुवाईमा मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ मा रहेका विभिन्न पसलहरुमा अनुगमन भएको छ । निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मीको नेतृत्वमा मंगलबार भएको अनुगमनका क्रममा दर्ता बिना नै पसल सञ्चालन भएका र एउटा प्रयोजनका लागि दर्ता भएर अरु नै पसल सञ्चालन गरेका पाइएको छ ।
कतिपय पसलहरुमा म्याद नाघेका सामग्रीहरु समेत बिक्री गरेको पाइएको निर्देशक रेग्मीले जानकारी दिए । यस्ता पसललाई पहिलो पटक सचेत गराईको र एक हप्ता भित्र सबै प्रक्रिया पुरा गरेर कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए ।
अन्नपूर्ण २ नागडाँडाको आयुष पूजा सामग्री तथा पलाष्टिक भाडा पसल, स्टार फोटो एण्ड फेन्सी, कल्पना किराना पसल, गौचन रेष्टुरेन्ट, दीपक केविन भोजनालय एण्ड चाट हाउस, केही फलफूल पसल, पोखरा २५ हेम्जामा रहेको एसविक्यूव मल्टी सप र अंकित सुशीला एण्ड सुशान्त किराना पसल लगायतका पसलमा अनुगमन भएको हो । पुजा सामग्री तथा पलास्टिक भाडा पसलले अनुमति नलिइ खाद्य सामग्री विक्री गरेको, मूल्य सूची नराखेको, नापतौल गर्ने साधन नविकरण नगरेको पाइएको थियो । उक्त पसलमा रहेको म्याद नागेको चिजबल र कुरुमकुरुम नष्ट गरिएको छ । कारोबार गर्ने सबै व्यवसाय दर्ता गरेर ७ दिन भित्र सम्बन्धित निकायमा जानकारी गराउन निर्देशन दिइएको छ ।
स्टार फोटो तथा फेन्सीलाई ७ दिन भित्र दर्ता गरेर अन्नपूर्ण गाउँपालिकालाई जानकारी गराउन निर्देशन दिइएको छ । कल्पना किराना पसललाई मूल्य सूची देख्नेगरी राख्न, नापतौलका साधन नविकरण गर्न, किराना सामान र मदिरा जन्य समान अलग अलग राख्ने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

गौचन रेष्टुरेन्टमा खाना खाजाको मूल्य सूची राख्न, नागडाँडामा रहेका फलफूल पसलहरुलाई अनिवार्य दर्ता गर्न र ७ दिनभित्र जानकारी दिन निर्देशन दिइएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयकी अधिकृत विष्णुदेवी पोखरेलले जानकारी दिइन् । दिपक केविन भोजनालय एण्ड चाट हाउस विना दर्ता सञ्चालन गरेको पाइएकोले तत्काल दर्ता गरेर सात दिन भित्र निर्देशनालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
हेम्जामा रहेको अंकित सुशिल एण्ड सुशान्त किराना पसललाई मूल्य सूची देखिनेगरी राख्न, मदिराजन्य र सुर्तिजन्य पदार्थ विक्री नगर्न निर्देशन दिइएको छ । उक्त किराना पसल विद्यालयसंगै जोडिएकाले मदिराजन्य र सुर्तिजन्य पदार्थ विक्री नगर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधी मुकुन्दराज पौडेलले जानकारी दिए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि मुकुन्दराज पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक प्रमोद कंडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि शिवजी बराल, उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत विष्णुदेवी पोखरेल, कर्मचारी संगिता पौडेल र नगेन्द्र पौडेलको सहभागिता थियो ।














