गण्डकी प्रदेश सरकारले गर्यो १६ जना महिलालाई सम्मान

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारले १६ जना महिलालाई सम्मान गरेको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा पोखरामा शुक्रबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको समारोहमा उनीहरुलाई नगद ५० हजारसहित सम्मान गरिएको हो ।

कार्यक्रममा विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट ७ महिला सहकारी संस्थालाई पनि सम्मान गरियो । ५० हजारसहित सम्मानित हुनेमा सामाजिक अभियन्ताद्वय कमला पराजुली, विना सिलवाल, साहसिक पर्यटनतर्फ कमला गिरी, फुन्जो झाङम लामा, पूर्णिमा श्रेष्ठ, मनु गुरुङ, दिकी ल्हमु लामा र नानुमाया गुरुङ सम्मानित भए ।

यस्तै, खेलकुदतर्फ रेखमाया गुरुङ, भाषा संस्कृतितर्फ तारामाया थापा र उद्यमीतर्फ चन्द्रकला राना, कान्छी गुरुङ र हिरा भट्टराई सम्मानित भए । पत्रकारिता क्षेत्रबाट कान्तिपुरकी प्रतीक्षा काफ्ले, रेडियो सफलताकी दुर्गा अधिकारी र राससकी फोटो पत्रकार राधिका कँडेल सम्मानित भएका हुन् ।

यस्तै, विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट ६ महिला सहकारी संस्थालाई ७५ हजारसहित सम्मानपत्र दिइएको थियो । गोरखाको सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्था, मुस्ताङको पुथाङ आमा बहुमुखी सहकारी, म्याग्दीको सृजना महिला विकास बहुउद्देश्यीय सहकारी, लमजुङको मार्गदर्शन महिला सहकारी, स्याङ्जाको प्रगति महिला सहकारी र बागलुङको कालिका सहकारी तथा नवलपुरको नवज्योति महिला सहकारी सम्मानित भएका हुन् ।

प्रत्येक सहकारीलाई ७५ हजारका दरले रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव प्रकाश पौडेलले जानकारी दिए । उनीहरुलाई गण्डकीका नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीले नगद र प्रमाणपत्रले सम्मान गरेका हुन् । डा. अधिकारीले सरकारल पहिलो पटक विभिन्न क्षेत्रका क्रियाशील महिलालाई सम्मान दिएकोमा खुसी प्रकट गरे ।

मन्त्रालयका सचिव प्रकाश पौडेलले सम्मान कार्यक्रमलाई आगामी वर्षदेखि निरन्तरता दिने बताए । महिला दिवस अवसरमा शुक्रबार बिहान पोखरामा प्रभातफेरी भएको थियो ।

  • २६ फाल्गुन २०८०, शनिबार ०७:३२ प्रकाशित