बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

केन्द्रभाग मिडिया

बागलुङ ।

बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो ।

बागलुङ बजारमा सुविधासम्पन्न धवलागिरि अस्पताल हुँदा धेरै महिला सुत्केरी हुनका लागि अस्पातलमा आउने गरेका छन् भने गाउँ–गाउँमा भने बर्थिङ सेन्टरमा पुग्ने गर्छन् । गर्भवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने गर्दै आएका छन् ।

अहिले हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउनुपर्छ भन्ने चेतना बढेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । पहिले बजार आसपासका गर्भवतीमात्रै स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने गरे पनि ग्रामीण क्षेत्रबाट कम आउने गरेको उनको भनाइ छ । हाल गाउँका स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जनशक्ति व्यवस्थापनपछि टाढाका गर्भवतीलाई सहज हुँदै गएको प्रमुख खनाल बताए । कहिलेकाहीँ टाढाबाट स्वास्थ्य संस्थामा आउँदाआउँदै बाटोमा समेत नवजात शिशु जन्मने गरेको उनको भनाइ छ ।

उनका अनुसार बागलुङ नगरपालिकाको १४ वटा वडामा २३ स्वास्थ्य संस्था छन् । ती मध्ये सात स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुविधा छ । नगरपालिकामा एउटा नगर अस्पताल, नौवटा स्वास्थ्य चौकी, तीनवटा आधारभूत स्वास्थ्य केन्द्र, आठवटा सहरी स्वास्थ्य एकाइ र एउटा मातृ तथा शिशु क्लिनिक रहेका छन् । स्वास्थ्यसम्बन्धी सेवासुविधा बढेपछि नागरिकले समस्या भोग्नु नपरेको उहाँको भनाइ छ । गत वर्षको तथ्याङ्कमा धवलागिरि अस्पतालमा मात्रै एक हजार महिला सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले सबै नागरिकलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउनका लागि नगरपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको बताए । आमा र शिशुको ज्यानको सुरक्षाका लागि स्वास्थ्य संस्थामै सुत्केरी हुन जरुरी रहेको हुँदा नगरपालिकाले सोहीअनुसार प्रोहोत्सन गर्दा अहिले पालिका शून्य होमडेलिभरी हुन पुगेको उनको भनाइ छ

  • १८ फाल्गुन २०८०, शुक्रबार १०:५१ प्रकाशित