पोखरा ।
पोखरालाई चैतको पहिलो हप्ता भित्रैमा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । त्यसका लागि सबैखालको तयारी भइरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । बुधबार महिला पर्यटन व्यवसायी मञ्च पोखराको छैटौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
चैतको १ देखि ७ गतेभित्र भव्य कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने उनको भनाई छ । त्यस अगाडि नै संघीय मन्त्रिपरिषद बैठकले नै पर्यटकीय राजधानी घोषणाको निर्णय गर्ने उनले अपेक्षा प्रकट गरे । त्यसो हुन नसके प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि बनाएर भव्य कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने उनले उद्घोष गरेका छन् ।
प्रदेश सरकार र महानगरले यस अगाडि नै औपचारिक निर्णय गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारलाई पठाएका छन् । गण्डकी प्रदेश सरकार र महानगरपालिकाले पटक पटक संघीय सरकारको ध्यानाकर्षण समेत गराउँदै आएका छन् ।
महानगर प्रमुख आचार्यले धेरै लामो छलफल र अध्ययनपछि राजधानी घोषणा गर्ने ठाउँमा पुगेको बताए । ‘पोखरा के हो भन्नेमा कुनै दुविधा छैन । पोखरा पर्यटनको केन्द्र हो । गन्तव्य हो र पर्यटनको पर्यायबाची हो । सबै चिज हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दछौँ ।’
उनले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी तयारी गर्न समेत पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त प्रमुख नविन पोखरेल, पर्यटन व्यवसायी वासु त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, अध्यक्ष उमा रेग्मी भण्डारी, निर्वतमान अध्यक्ष पार्वती पाण्डे, सचिव बालकुमारी न्यौपाने लगायतले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पोखरेली पर्यटन व्यवसायी आतुर रहेको बताए ।