आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ ।
दादुरा(रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ ।
रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्माका अनुसार गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा दोस्रो चरणमा खोप अभियान संचालन गरिनेछ ।
मनाङ र मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न बेसी झरेका कारण दोस्रो चरणमा खोप अभियान चलाइने भएको हो । ती दुई जिल्ला बाहेकका ९ जिल्लामा अभियान पहिलो चरणमा हुनेछ ।
अभियान सफल पार्न गण्डकीका ९ जिल्लामा ५ हजार ७ सय ७८ जना स्वयंसेविका परिचालन गरिएको उनले जानकारी दिए । गण्डकीका अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ भने नवलपुरमा १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइनेछ । भारतसँग सिमाना जोडिएको नवलपुरमा दादुरा रूबेला रोगको उच्च जोखिम भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने निर्णय गरेको महानिर्देशक पौडेलले बताए ।
उक्त खोप अभियान सञ्चालनका लागि प्रदेशभर २ हजार ८ सय ८९ वटा खोप केन्द्र संचालन गरिने उनले जानकारी दिए । यो अभियानबाट प्रदेशका २ लाख ५३ हजार ३५ जना बालबालिका लाभान्वित हुनेछन् ।
स्वस्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक विष्णुप्रसाद सुवेदीले दादुरा रूबेला विरूद्धको खोपले बालबालिकाको स्वास्थ्यमा कुनै असर नपार्ने भएकाले सबै बालबालिकालाई सहभागी गराउन आग्रह गरे ।