गण्डकीमा दादुरा–रुबेला खोप अभियान १३ फागुन देखि ७ चैतसम्म

केन्द्रभाग मिडिया

पोखरा ।

स्वास्थ्य निर्देशनालय गण्डकीले १३ फागुन देखि ७ चैतसम्म दादुरा–रूबेला खोप अभियान संचालन गर्ने भएको छ ।निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्माका अनुसार गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा दोस्रो चरणमा खोप अभियान संचालन गरिनेछ ।

मनाङ र मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न बेसी झरेका कारण दोस्रो चरणमा खोप अभियान चलाइने भएको हो । ती दुई जिल्ला बाहेकका ९ जिल्लामा अभियान पहिलो चरणमा हुनेछ ।

अभियान सफल पार्न गण्डकीका ९ जिल्लामा ५ हजार ७ सय ७८ जना स्वयंसेविका परिचालन गरिएको उनले जानकारी दिए । गण्डकीका अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ भने नवलपुरमा १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइनेछ । भारतसँग सिमाना जोडिएको नवलपुरमा दादुरा रूबेला रोगको उच्च जोखिम भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने निर्णय गरेको महानिर्देशक पौडेलले बताए ।

उक्त खोप अभियान सञ्चालनका लागि प्रदेशभर २ हजार ८ सय ८९ वटा खोप केन्द्र संचालन गरिने उनले जानकारी दिए । यो अभियानबाट प्रदेशका २ लाख ५३ हजार ३५ जना बालबालिका लाभान्वित हुनेछन् ।

स्वस्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक विष्णुप्रसाद सुवेदीले दादुरा रूबेला विरूद्धको खोपले बालबालिकाको स्वास्थ्यमा कुनै असर नपार्ने भएकाले सबै बालबालिकालाई सहभागी गराउन आग्रह गरे ।

सरकारले २०२६ सम्म नेपालमा दादुरा रूबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको छ । सन् २००४ बाट नेपालमा उक्त खोप लगाउन थालिएको हो । ४(४ वर्षमा दादुरा रूबेला विरूद्धको खोप अभियान चलाउने गरेको प्रदेशका खोप फोकल पर्सनसमेत रहेका सुवेदीले बताए । उनका अनुसार दादुरा रूबेला विरूद्ध २ डोज खोप लगाएपछि यसको मात्रा पुरा हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका १८ वटा जिल्लामा दादुरा रूबेला महामारी फैलिएर १ हजार ३ सय जना संक्रमित भएका थिए । जसमा गण्डकीका १७ जना छन् । गत पुसमा तनहुँमा दादुरा रूबेला महामारी फैलिएको थियो ।

  • १० फाल्गुन २०८०, बिहीबार २२:०३ प्रकाशित