आज ७४ औं प्रजातन्त्र दिवश, विविध कार्यक्रमसहित मनाइँदै

केन्द्रभाग मिडिया

पोखरा ।

आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवश । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आजका दिन यो दिवश देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानी दिएका छन् ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष औपचारिक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, पूर्वराजा, प्रदेश प्रमुखहरु र मुख्यमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

  • ७ फाल्गुन २०८०, सोमबार ०७:०३ प्रकाशित