डब्लू.पी.बी.डी.जी रानीवन पोखराको १२ औं स्थापना दिवस : विभिन्न वनस्पति वृक्षारोपण

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग मातहत रहेको विश्व शान्ति जैविक विविधता उद्यान(डब्लू.पी.बी.डी.जी) रानीवन पोखराले १२ औँ वार्षिक उत्सव तथा स्थापना दिवस मनाएको छ ।

शुक्रबार पोखरामा विभिन्न सरोकारवाहरुसँग अन्तक्रियात्मक तथा वृक्षारोपण गरि रानीवन पोखराले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा रानीवन पोखराले गीन्को वाइलोवा , बेल, रुद्राक्ष जस्ता विरुवाहरुको वृक्षारोपण गरेको बताएको छ ।
कार्यलयका प्रमुख धर्मराज कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि बरालले रानीवन उद्यान पोखराको गहनाको रुपमा रहेको र यसलाई पोखराको पर्यटनको पूर्वाधारको रुपमा विकास गर्नुपर्ने बताए ।
यस्तै कार्यालयका अध्यक्ष कोइरालाले रानीवन उद्यान शैक्षिक र पर्यटकीय स्थलको रुपमा विकास हुदैँ गइरहेको जिकिर गरे ।
गण्डकी प्रदेशकै एकमात्र यस रानीवन उद्यानले ६० भन्दा बढी प्रजातीका सुनाखरी, २० भन्दा बढी प्रजातीका उन्यु र १०० भन्दा बढी प्रजातीका फल फल्ने र नफल्ने वनस्पतिहरुको संरक्षण गरिरहेको कोइरालाले दाबी गरे ।

कार्यक्रममा गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उप सचिवहरु पुर्णेश्वर सुवेदी र केदार बरालले जैविक विविधताको महत्वको बारेमा प्रकाश पारेका थिए ।कार्यालयकी कम्प्युटर अपरेटर जानकी पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

  • ५ फाल्गुन २०८०, शनिबार १९:०४ प्रकाशित