कास्की कांग्रेस सभापतिमा कसैको पनि कटेन ५० प्रतिशत मत, बराल र भट्टराई बीच पुन: प्रतिस्पर्धा हुने

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीको सभापतिका लागि प्रतिस्पर्धामा उत्रेका पाँच जना उम्मेद्वार मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन सकेनन् । कांग्रेस कास्कीको शुक्रबार राति सम्पन्न मतगणना अनुसार सभापतिका पाँच आकांक्षी मध्ये किशोरदत्त बरालले ६४४  मत  ल्याएपनि जीतका लागि प्रयाप्त हुन सकेन ।

उनका प्रतिस्पर्धि सुदिपमोहन भट्टराईले ४६९ मत ल्याएका छन् । सबैभन्दा बढी मत ल्याउने यिनै दुई जना बीच शनिबार पुन प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिका अन्य आकांक्षी मध्ये आइबहादुर गुरुङले ४६२, पोषनाथ शर्माले ३३५ र गिरिराज गौतमले ६२ मत ल्याए । बराल र भट्टराई बाहेक अरु सभापतिका उम्मेद्वार अब कास्की सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । ४७ मत बदर भएका छन् ।

कांग्रेस कास्कीको उपसभापतिमा १० जनाको प्रतिस्पर्धा छ । कृष्णप्रसाद ढुंगाना, नाराण कुमार श्रेष्ठ, पिताम्बर पौडेल, प्रज्वल रञ्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबहादुर भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद शर्मा लामिछानेले प्रतिस्पर्धा गरेका हुन्।

सचिवमा ९ जनाको प्रतिस्पर्धा छ । अमृत कुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाले सचिवमा प्रतिस्पर्धा गरेका हुन्।

सहसचिवमा पनि ९ जनाले प्रतिस्पर्धा गरेका छन् । कृष्णमान ठुसाजु, गणेशबहादुर थापा खत्री, जयप्रकास थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकाश थापा र शंकर ढुंगानाले सहसचिवमा प्रतिस्पर्धा गरेका हुन् ।

कास्की कांग्रेस कार्यसमितिमा पदाधिकारी सहित सदस्यमा ९२ जनाले प्रतिस्पर्धा गरेका छन् । शनिबार सभापतिका लागि पुन मतदान भएपछि मात्र सबै मत गनिने कास्की कांग्रेसले जानकारी दिएको छ ।

  • १० मंसिर २०७८, शुक्रबार २३:३८ प्रकाशित