काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने र सहकारीमार्फत ठगीमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले गलत गर्नेहरु जो सुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताएका हुन् ।
‘जो सुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन रु दण्ड पाउनु पर्दैन रु’ कांग्रेस महामन्त्री थापाको प्रश्न गरे ।
नागरिकता किर्ते लगायतका विषयमा पनि शक्तिको दुरुपयोग हुन नहुने उनको भनाइ छ । थापाले प्रश्न गरे, ‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस् हातमा ताकत होस्, कलम होस्, नागरिकता बनाउनलाई किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा किर्ते गरेपनि उसको किर्ते माफी हुन्छ । यसरी चल्छ ?’
सहकारी ठगी प्रकरणमा पनि सरकारले गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।
‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै ताकत भएको होस् आम नागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्धा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन रु कानुनले कारबाही गर्नु पर्दैन रु’ महामन्त्री थापाको प्रश्न छ ।
सुशासन कायम गर्न सरकारले गलत काम गर्नेको शक्ति र पदीय हैसिय हेर्न नहुने थापाले बताए । ‘चाहे जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्, चाहे नागरिकताको किर्ते गर्ने होस्, चाहे सहकारीमा ठग्ने होस् । यताको होस् कि उताको होस् जुनसुकै दलको होस् वा दल भन्दा बाहिरको होस्, जतिसुकै सक्तिशाली होस् कसैले पनि उन्मुक्ति पाउनुहुन्न’ उनले भने ।
सर्वसाधारण नागरिकले दण्ड पाउने हरेक अपराधमा शक्तिशालीहरुले पनि दण्ड भोग्नुपर्ने बताए ।














